काठमाडौं। माननीय स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठको प्रमुख आतिथ्यता, राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष प्रा. डा. गोबिन्दराज पोखरेल, राष्ट्रिय योजना आयोगका पूर्व सदस्य हिरेन्द्रमान प्रधान तथा नेपाल इन्जिनियर्स एसोसिएसनका अध्यक्ष प्रा.डा.त्रिरत्न बज्राचार्य एवं नेफ्स्कुनका निर्देशक जनक खत्रीको विशेष आतिथ्यतामा इन्जिनियर साथी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको बार्षिक साधारणसभा सम्पन्न भएको छ । उक्त साधारणसभालाई सम्बोधन गर्दै प्रमुख अतिथिः मा. उमेश श्रेष्ठले इन्जिनियरहरु अन्य लगानिकर्ताको परियोजना निर्माण मात्र नभई आफ्नै लगानीका परियोजना निर्माण कार्यमा पनि हुनुपर्नेमा जोड दिनुभएको छ । समूहमा गरिने लगानी सहकारिताको सिद्धान्त भएको बताउँदै सहकारीलाई पूंजी वृद्धि गरी थप प्रभावकारी तवरले नयाँ तवरले काम गर्न सकिने बताउँदै संस्थाको उत्तरोत्तर प्रगतिको कामना गर्नुभयो ।
सभामा बोल्दै योजना आयोगका पूर्वउपाध्यक्ष प्रा.डा. गोबिन्दराज पोखरेलले समाजबाद प्राप्तिको प्रमुख आधार सहकारी बन्न सक्ने औंउल्याउँदै आर्थिक परिचालनमा इन्जिनियरहरुको भूमिकालाई नेतृत्व प्रदान गर्न सहकारी सफल हुनेमा विश्वास ब्यक्त गर्नुभयो । सभालाई सम्बोधन गर्दै सहकारीका सल्लाहकार तथा राष्ट्रिय योजना आयोगका पूर्व सदस्य प्रा.हिरेन्द्रमान प्रधानले इन्जिनियरहरु अध्ययन अध्यापनका साथै आर्थिक गतिविधिका क्षेत्रमा समेत लगानी गर्न नयाँ योजनाहरु सहित अघी बढ्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।
उक्त सभालाई सम्बोधन गर्दै नेपाल इन्जिनियर्स एसोसिएसनका अध्यक्ष प्रा.डा. त्रिरत्न बज्राचार्यले इन्जिनियरहरुले संचालन गरेको सहकारीले बिशेष रूपमा नयाँ इन्जिनियरहरुलाई उद्यमशिलताको लागि बिना धितो कर्जा प्रदान गरेर समग्र इन्जिनियरहरुलाई उत्पादनमूलक कार्यमा संलग्न गराउन विशेष पहल गर्नुपर्नेमा जोड दिनुभयो ।
सभामा सहकारीका संचालक सचिब ई. बिनोद प्रकाश पण्डितले सहकारीले विभिन्न बैंकिंग सुविधा सहित क्युआर कोड सहितको मोबाइल एप्लिकेसनका साथै आफ्नै वेवसाइट सञ्चालनमा ल्याएको लगायत जनाकारी पेश गर्नुका साथै संस्थाले निकट भविष्यमा विभिन्न थप सुविधाहरु समेत प्रदान गर्ने योजना बमोजिम गतिविधिहरु सञ्चालन गरिरहेको प्रस्तुत गर्नु भयो । सहकारी द्वारा निकट भविष्यमा थप गर्ने सेवाहरुमा सदस्यहरुको सवारी कर भुक्तानी तथा नवीकरण सेवा, बाल बचत खातामा सहभागी सदस्यहरुका बाल बच्चाहरुलाई जन्म दिनको दिन आकर्षक उपहार प्रदान गर्ने, ईन्जिनियर आवास कार्यक्रम संचालन गर्ने लगायतका कार्यक्रमहरु समेत राखेको छ ।
प्रतिष्पर्धी बजारमा नयाँ तवरले आफ्ना गतिविधिहरु सञ्चालन गर्नुपर्ने आवश्यकता बमोजिम उक्त पूंजी बृद्धि गरी दिगो रुपमा नाफामूलक रुपमा संचालन गर्ने, आगामी २ बर्ष भित्र काठमाडौं उपत्यकामा सहकारीका सदस्यहरुलाई सहूलियत रुपमा जग्गा÷आवास उपलब्ध गराउने गरी लगायत समेत संस्थाका आगामी कार्यक्रम भित्र समेटिएका छन् । यसैगरी सहकारीको आगामी ६ बर्ष भित्र थप पूंजी परिचालन गरी ऊर्जा, पूर्वाधार निर्माण तथा आईटी जस्ता क्षेत्र जस्ता भावी सम्भावना रहेका ठूला परियोजनाहरुमा काम अघी बढाउने योजना समेत राखेको छ ।